Saturday, December 8, 2012

कविता

रचनाकार- सुभाश संगम राइ 

समदर्शन टेकेर
समधिक माथी - माथी
उठ्न खोज्छ मान्छे
मानवता पाउमा राखी
शिर माथी आफु उभिन खोज्छ
धर्तीको असंख्य प्राणीहरु मध्य
सर्वश्रेष्ठको नाम-
नाममा मात्र सिमित राख्दै
बौद्धिकतालाई जुता चप्पल बनाउने
कस्तो मुर्ख छ मान्छे !

चेतनशील ठान्छ आफुलाई
चिन्तन भित्रको चेत ढालेर
सोंचाई भित्रको सोंच ढालेर
महान ठान्छ आफुलाई
मान्छे भित्रको मानवता ढालेर
पढ्छ पुस्तकका ठेलीहरु
शब्दहरु जिब्रोको टुप्पोमा झुण्ड्याउँछ
ज्ञानी र बुद्धिमानी सम्झन्छ आफुलाई
ति शब्दहरुको अर्थ जति
कुकर्मको पाइखाना भित्र कुहाएर
अनि कुल्चिएर सिद्धान्त -
तात्विक विवेचन सम्पूर्ण चिन्मयको
र नि फेरी,
अरुलाई व्यर्थ मुर्ख देख्ने
कस्तो मुर्ख छ मान्छे !

यहाँको नीतिशास्त्र नै मुर्ख बन्यो
महा-मुर्ख हाकिमहरुले जन्माएर
र नै मुर्ख र रुखो बने-
समाजहरु
संस्कारहरु
बोली बचनहरु
अनि हेर्ने नजरहरु
र चिन्तनाहरु ।

होडबाजी छ यहाँ मान्छे भित्र
मान,सम्मान र ईज्जत कमाउने
तर,पैसा नै ति सब ठान्छ मान्छे
सायद यहाँ पैसा
कृतिम गोजीहरुमा मात्र नभएर
चेतहरु खोतलेर-
त्यसै भित्र बास बसाईएको छ
राज्य गर्न दिईएको छ
तर विडम्बना ..
यो माटोलाई नीरव सम्झन्छ मान्छे
दिन भरी कुल्चिएकोले होला
रात भरी ओछ्यान लगाएर सुतेकोले होला
जानेन कहिल्यै-
यो धर्ति यो माटो
मेरो मान हो
मेरो सम्मान हो
मेरो ईज्जत हो
अनि,
मेरो गौरव हो भन्ने ।

संधै सम्झन्छ यो धर्ती यो माटो
मान्छे बाट निर्मित हो भन्ने
कस्तो मुर्ख छ मान्छे !

No comments:

Post a Comment