Saturday, January 19, 2013

गजल,


आँखाभरि देशको छायाँ मनमा मायाँ सजाइ राखौँ |
मुटुमाँझ   जीवनभरि    मेचीकाली   बगाइ राखौँ |

मोतिसरि  टल्कने ती   आहा! हिमाल कति प्यारा ,
सारा हिमाल स्वच्छ राखी हाँस्दै गाउँदै रमाइ राखौँ |

पसिनाले    माटो भिजाई   कर्म गरे    देश बन्छ ,
हिम्मत राखी कर्तब्यका पाइलाहरु लम्काइ राखौँ |



पावनभूमि  शान्तिभूमि   बुद्ध जन्मे यै भूमिमा ,
स्वर्ग जस्तो हाम्रो भूमि दुनियाँमा चिनाइ राखौँ |

बग्छन् झरना संगीत भर्दै गुराँस फुल्ने पखेरामा ,
तिनै सुन्दर  पखेरामा डाँफे मुनाल नचाइ राखौँ |

लड्नु हुन्न  आपसमा   हामी लडे  राष्ट्र रुन्छ ,
नेपाल हाम्रो  मातृभूमी युगौं-युग हँसाइ राखौँ |

टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला- ४
मोरंग ,

No comments:

Post a Comment